डोटी। आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौक खण्डको कच्ची सडकमा बोलेरो जीप दुर्घटना हुँदा दुई युवाको ज्यान गएको छ।
मृत्यु हुनेमा बोलेरो चालक आदर्श गाउँपालिका–३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश विक रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नवराज ढुङ्गेलका अनुसार दुर्घटना गएराति करिब १२ बजे भएको हो।
खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१च ३९२३ नम्बरको बोलेरो घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब ९०० मिटर तल साइली खोलामा खसेको थियो।
दुर्घटनापछि दुवै जनालाई खोलामा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

