काठमाडौँ। बीस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ। उद्घाटन खेलमै नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा सम्पन्न खेलमा नेपालका लागि सुजन डङ्गोल र सुवास वमले समान एक–एक गोल गरे। भुटानका तर्फबाट धेनदुप ग्यालसेनले सान्त्वना गोल फर्काए।
खेलको पाँचौँ मिनेटमै सुजन डङ्गोलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता कायम राखेको नेपालले दोस्रो हाफको ५२औँ मिनेटमा सुवास वमको गोलमार्फत अग्रता दोब्बर बनायो।
८३औँ मिनेटमा भुटानका धेनदुप ग्यालसेनले गोल फर्काउँदै खेललाई २–१ मा झारे पनि त्यसपछि थप गोल हुन सकेन। अन्ततः नेपालले सुरुआती खेलमै महत्वपूर्ण जित दर्ता गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको छ।

