काठमाडौं। सङ्घीय संसद् भवन सिंहदरबारभित्रै संसदीय गतिविधि सञ्चालन गर्ने तयारी तीव्र भइरहेका बेला नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालय व्यवस्थापन अन्तिम चरणमा पुगेका छन्।
सांसद सङ्ख्या र पदाधिकारीको आवश्यकताअनुसार कक्षहरू छुट्याइएका छन् भने अधिकांश स्थानमा रङ्गरोगन, कार्पेट बिछ्याउने तथा फर्निचर जडानको काम सम्पन्न भइसकेको छ।
यसपटक बहुमतसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सबैभन्दा ठूलो कक्ष प्रदान गरिएको छ। सचिवालय भवन नम्बर २ मा व्यवस्थापन गरिएको रास्वपाको संसदीय दल कक्षमा १८० सिट क्षमताको बैठक हल तयार गरिएको छ।
रास्वपाले खर्च कटौतीलाई प्राथमिकता दिँदै नयाँ सामग्री खरिदभन्दा उपलब्ध फर्निचर, कार्पेट र पर्दालाई नै पुनः प्रयोग गरेको छ। पार्टीका महामन्त्री तथा नवनिर्वाचित सांसद कबिन्द्र बुर्लाकोटीको आग्रहअनुसार न्यूनतम खर्चमा व्यवस्थापन गरिएको कर्मचारीहरूले बताएका छन्। बैठक हलसँगै पदाधिकारीका लागि थप पाँच कक्षसमेत तयार पारिएका छन्।
यसअघि रास्वपाले प्रयोग गर्दै आएको भवनमा अब अन्य दलहरूको कार्यालय व्यवस्थापन गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय कक्षहरू त्यही भवनमा तयार पारिँदै छन्। ती कक्षहरूमा रङ्गरोगन सम्पन्न भइसकेको छ भने कार्पेट र फर्निचर जडानको काम जारी छ।
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई भने साबिककै संसदीय कार्यालयमा निरन्तरता दिइएको छ। सांसद सङ्ख्या र पदाधिकारीका आधारमा कक्ष विभाजन गरिएको छ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार यो व्यवस्था अस्थायी भए पनि संसद् सञ्चालन सुरु हुनुअघि सबै दलका संसदीय कार्यालय पूर्ण रूपमा तयार भइसक्नेछन्।

