काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको असरका कारण अहिले कोशी, मधेस र लुम्बिनी प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली देखिएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
साथै कोशी प्रदेशको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।
त्यसैगरी, आज राति देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ र तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा अन्य पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

