काठमाण्डौ। इजरायलको बीरशेबा क्षेत्रमा इरानले गरेको आक्रमणपछि खतरनाक रसायन तथा ग्यास चुहावट भएको आशंका गरिएको छ।
अलजजिराका अनुसार औद्योगिक क्षेत्र आसपासका बासिन्दाहरूलाई तत्काल घरभित्रै सुरक्षित रहन, झ्याल–ढोका कडा रूपमा बन्द गर्न र सम्बन्धित निकायका निर्देशनहरू पालना गर्न आग्रह गरिएको छ।
घटनाको गम्भीरता बढेसँगै मध्य इजरायललाई बीरशेबासँग जोड्ने मुख्य राजमार्ग पूर्ण रूपमा बन्द गरिएको छ। उद्धार तथा सुरक्षा टोलीहरू सम्भावित रासायनिक प्रदूषण नियन्त्रण, थप चुहावट रोक्ने प्रयास तथा आक्रमणपछि लागेको आगो निभाउन केन्द्रित छन्।
उक्त औद्योगिक क्षेत्र इजरायलका लागि रणनीतिक रूपमा अत्यन्त संवेदनशील मानिन्छ। यहाँ करिब १९ वटा विभिन्न कारखाना सञ्चालनमा छन्, जसमा ब्रोमाइड उत्पादन गर्ने प्लान्ट र औषधिजन्य उद्योगहरू समावेश छन्।
विशेष चिन्ताको विषय भनेको यही क्षेत्र इजरायलको मुख्य खतरनाक फोहोर व्यवस्थापन केन्द्रसमेत रहेको हो। त्यसैले क्षतिले ठूलो मानवीय तथा वातावरणीय संकट निम्त्याउन सक्ने जोखिम देखिएको छ।
हालसम्म सैन्य गोपनीयताका कारण कुन कारखाना लक्षित भयो भन्ने स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। यसबीच, इरानले मध्यरातदेखि दक्षिण इजरायलको नेगेभ क्षेत्रमा लगातार क्षेप्यास्त्र प्रहार गरिरहेको बताइएको छ, जसले देशभर उच्च सतर्कता र त्रासको अवस्था सिर्जना गरेको छ।

