काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ।
यसका कारण देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि बाक्लो बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा हिमाली स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा मधेस प्रदेशसहित कोशीका तराई क्षेत्र, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने अन्य तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

