कपिलवस्तु/रुपन्देही। कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशरण चौधरी सहित तीन जनाविरुद्ध सामूहिक बलात्कार आरोपमा मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले ‘भैरहवा–१५’ बस्ने एक युवतीमाथि भएको भनिएको घटनासम्बन्धी उजुरीका आधारमा चौधरीसहित राजेश्वर चौधरी र सन्तकुमार यादवविरुद्ध अभियोग दर्ता गरेको हो।
यादव हाल थुनछेकका लागि रुपन्देही कारागारमा रहेका छन्।
पीडित पक्षका अनुसार २०८१ असोज ६ गते भएको भनिएको घटनामा उनीहरूको संलग्नता रहेको भन्दै युवतीले किटानी जाहेरी दिएकी थिइन्। प्रारम्भमा इलाका प्रहरी कार्यालय बुटवलले मुद्दा अघि नबढाएपछि पीडितले अदालतमा रिट दायर गरेकी थिइन्। अदालतको आदेशपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो।
यसअघि पीडितको गोपनीयता उल्लंघन गरेको आरोपमा अध्यक्ष चौधरी साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका थिए। तर पछि सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गर्दै उनलाई उन्मुक्ति दिएको थियो।
०७९ सालको स्थानीय तह निर्वाचनमा चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
उता, चौधरीले आफूमाथि लगाइएको आरोप असत्य रहेको दाबी गर्दै कानुनी प्रक्रियाबाट सत्य बाहिर आउने बताएका छन्। पारिवारिक विवादका क्रममा आफूले भनेअनुसार बयान नदिँदा योजनाबद्ध रूपमा झुटा मुद्दा लगाइएको उनको भनाइ छ।
‘यदि दोषी ठहरिए सजाय भोग्न तयार छु, तर निर्दोष भए फसाउनेमाथि कानुनी कारबाही हुनुपर्छ,’ उनले बताएका छन्।

