काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित दर्ता गरेको छ।
गएराति भएको रोमाञ्चक खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई एक रनले पराजित गरेको हो। अन्तिम बलमा दिल्लीलाई २ रन आवश्यक पर्दा टोली लक्ष्य पूरा गर्न असफल रह्यो र कुलदीप यादव रनआउट भए।
२ सय ११ रनको लक्ष्य पछ्याएको दिल्लीले ८ विकेट गुमाएर २ सय ९ रन मात्र बनाउन सक्यो। ओपनर पथुम निसन्का र केएल राहुल बीच पहिलो विकेटका लागि ७६ रनको साझेदारी भएको थियो।
निसन्काले २४ बलमा ४१ रन बनाए भने राहुलले ५२ बलमा ११ चौका र ४ छक्कासहित सर्वाधिक ९२ रन बनाए। यद्यपि उनीहरूको प्रदर्शन टोलीलाई जित दिलाउन पर्याप्त भएन।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले ४ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो। कप्तान शुभमन गिलले ४५ बलमा ७० रन बनाए। जस बटलरले २७ बलमा ५२ रन जोड्दा गिलसँग दोस्रो विकेटका लागि ६० रनको साझेदारी गरे।
त्यसपछि वासिङ्टन सुन्दर ले ३२ बलमा ५५ रनको अर्धशतकीय योगदान दिए।
दिल्लीका लागि मुकेश कुमारले ५५ रन खर्चेर २ विकेट लिए।
प्रतियोगितामा दिल्लीको यो पहिलो हार हो भने गुजरातले अघिल्ला दुई खेल गुमाएपछि पहिलो जित हात पारेको हो।

