काठमाडौँ । पशुपतिनाथ मन्दिर क्षेत्रमा अलपत्र अवस्थामा भेटिएका एक फ्रान्सेली नागरिकलाई प्रहरीले अध्यागमन विभागमा बुझाएको छ।
एक विदेशी नागरिक अलपत्र अवस्थामा रहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले खोजी गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार सोधपुछका क्रममा ती फ्रान्सेली नागरिकको सामान चोरी वा लुटपाट नभएको खुल्न आएको छ।
“फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा रहेको भिडियो सार्वजनिक भएपछि हामीले सोधपुछ गर्यौँ, तर कुनै लुटपाट वा चोरी नभएको पाइयो, त्यसैले अध्यागमन विभागमा बुझाएका छौँ,” प्रवक्ता भट्टराईले भने।
प्रहरीका अनुसार ती नागरिक विगत छ वर्षदेखि आफ्नी नेपाली श्रीमतीसँग नेपालमा बस्दै आएका थिए। आर्थिक समस्याका कारण उनले आफ्नो पासपोर्ट, मोबाइल, ल्यापटप लगायतका सामान आफू बसेको होटलमै छोडेर हिँडेका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

