काठमाडौँ । वैदेशिक रोजगारका पीडितलाई ठगी गरेको आरोपमा एक संस्थाका सञ्चालक पक्राउ परेका छन्।
सिन्धुलीको सुनकोसी गाउँपालिका–७ घर भई हाल काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्ण चोकस्थित बसोबास गर्दै आएका ६६ वर्षीय इन्द्रलाल गोलेलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार ‘वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ’ नामक संस्थामार्फत वैदेशिक रोजगारीका पीडित व्यक्तिहरूबाट उजुरी लिने र कानुनविपरीत रकम असुल्ने गतिविधि भइरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा गोलेले आफू संस्थाको अध्यक्ष भएको दाबी गर्दै प्रहरीसँग अभद्र व्यवहार गरेको आरोप पनि लागेको छ।
उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

