सरकारले सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। यातायात व्यवस्था विभाग ले बुधबारदेखि लागू हुनेगरी अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढाएको जनाएको हो।
विभागका अनुसार इन्धनको बजार मूल्यमा आएको परिवर्तनलाई आधार मानेर वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा भाडा समायोजन गरिएको हो। यस प्रणालीअनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा भाडा स्वतः समायोजन गरिन्छ।
यसअघि २०८१ पुस २२ गते डिजेलको औसत मूल्य प्रतिलिटर १५०.८३ रुपैयाँ पुगेपछि भाडा समायोजन गरिएको थियो। त्यसयता इन्धनको मूल्यसहित अन्य सूचकहरूमा भएको वृद्धि र परिवर्तनलाई ध्यानमा राख्दै नयाँ भाडादर लागू गरिएको विभागले जनाएको छ।
दुई वा सोभन्दा बढी प्रदेश हुँदै सञ्चालन हुने (राष्ट्रियस्तरका रुटमा) सार्वजनिक यातायात—विद्युतीय सवारी बाहेक—मा यो नयाँ भाडादर लागू हुनेछ।
भाडा वृद्धिको विवरण:
यात्रुवाहक सवारीमा १६.७१ प्रतिशत वृद्धि, पहाडी क्षेत्रका मालवाहक सवारीमा २१.६८ प्रतिशत वृद्धि, तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीमा १५.७५ प्रतिशत वृद्धि
विभागले स्वचालित प्रणालीमार्फत गरिएको यो समायोजनले यातायात क्षेत्रलाई व्यवस्थित र सन्तुलित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

