काठमाडौं । बालेन्द्र शाहको नेतृत्वमा बन्ने भनिएको सरकारमा मन्त्रीको संख्या बढीमा १५ जनासम्म सीमित हुने तयारी गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार गठनको तयारीसँगै मन्त्रीहरूको संख्या ११ देखि १५ जनाभित्र राख्ने रणनीति बनाएको हो।
रास्वपाका सांसद अमरेशकुमार सिंहले पार्टीले सानो तर प्रभावकारी मन्त्रिपरिषद् गठन गर्ने निर्णय लिएको जानकारी दिएका छन्। सिंहका अनुसार उनले आइतबार वरिष्ठ नेता बालेन शाह र पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए। भेटका क्रममा सरकारको संरचना र मन्त्रीको संख्याबारे सहमति भएको उनले बताए।
“मैले आजै पनि वरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछानेसँग भेट गरेको थिएँ। मन्त्रीहरू ११ देखि १५ भित्रै अटाउने गरी सहमति भएको छ,” सिंहले भने।उनले अबको पाँच वर्षसम्म बालेन शाह नै प्रधानमन्त्री रहने सहमति बनेको पनि दाबी गरे।
यसैबीच पछिल्ला दिनमा बालेन शाह र रवि लामिछाने बीच दूरी बढेको भन्ने चर्चा चलिरहेका बेला सिंहले त्यसलाई अस्वीकार गरेका छन्।“विरोधीहरूले असन्तुष्टि छ, दूरी छ भनेर हल्ला फैलाएका छन्। तर त्यस्तो केही पनि छैन,” उनले भने।रास्वपाले सानो र चुस्त मन्त्रिपरिषद् मार्फत प्रभावकारी शासन सञ्चालन गर्ने रणनीति बनाएको नेताहरूको भनाइ छ।

