काठमाडौं । जालसाजीपूर्ण शेयर कारोबार प्रकरणमा संलग्न रहेको आरोपमा व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्।
हिमालयन रिइन्स्योरेन्सका निवर्तमान अध्यक्षसमेत रहेका गोल्छा बिचौलिया दीपक भट्ट र सुलभ अग्रवालसँग सम्बन्धित अवैध शेयर कारोबारमा जोडिएको तथ्य सार्वजनिक भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसमेत हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले बिहीबार काठमाडौंको नक्साल क्षेत्रबाट उनलाई पक्राउ गरेको हो। सीआईबी प्रमुख मनोज केसीका अनुसार गोल्छालाई सोही क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
नेपाल धितोपत्र बोर्डले तयार पारेको ‘धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन–२०८३’मा भट्ट र अग्रवालको जालसाजीपूर्ण कारोबारमा गोल्छाको संलग्नता देखिएको उल्लेख छ। उक्त प्रतिवेदन अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ।
भट्ट तथा उनका साझेदार शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवाल हाल सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरी हिरासतमा छन्। भट्टको शेयर कारोबारमाथि अध्ययन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधपछि धितोपत्र बोर्डले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।
प्रतिवेदनमा गोल्छासहित हिमालयन रिइन्स्योरेन्स, रोहित गुप्ता र नेपाल माइक्रो इन्स्योरेन्सलाई समेत उक्त कसूरमा सहयोगी भूमिका निर्वाह गरेको भनी टिप्पणी गरिएको छ। अनुसन्धान सुरु भएसँगै गोल्छाले केही साताअघि हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष पदबाट राजीनामा दिएका थिए।
प्रचलित कम्पनी कानुन, बीमा नियमन तथा कर्पोरेट सुशासनका आधारभूत मान्यताअनुसार कुनै पनि संस्थाको कोष व्यक्तिगत लगानीमा प्रयोग गर्न दिनु गम्भीर उल्लंघन मानिन्छ।
Previous Articleपरिवर्तन अधुरो छ तर सपना मरेको छैन
Next Article एपिएफलाई स्तब्ध पार्दै भोजपुर फाइनलमा, चम्किए दोर्जी

