भोजपुर । नवौँ भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सनसनीपूर्ण प्रदर्शन गर्दै साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २–० गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको छ।
भोजपुरको जितमा दोर्जी तामाङ र सञ्जय लिम्बुले महत्वपूर्ण गोल गरे। खेलको २९औँ मिनेटमा दोर्जीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ६५औँ मिनेटमा सञ्जयले अर्को गोल थप्दै जित पक्का गरे। एपिएफ भने खेलभर गोलविहीन रह्यो।
उत्कृष्ट प्रदर्शनका लागि भोजपुरका दोर्जी तामाङ ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
यस्तै, दोस्रो सेमिफाइनल खेल शुक्रबार सातदोबाटो युथ क्लब ललितपुर र प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँबीच हुने आयोजकका अध्यक्ष प्रविण सुवालले जानकारी दिए।
आठ टोलीको सहभागिता रहेको प्रतियोगिताको खेल भोजपुर नगरपालिका–७ कोदारस्थित रंगशालामा सञ्चालन भइरहेको छ। प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँसहित उपाधि हात पार्नेछन्। फाइनल खेल वैशाख १२ गतेका लागि तय गरिएको छ।

