काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म दर्ता नभएकै कारण साइबर अपराध अनुसन्धान जटिल बनेको बताएका छन्।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबार बसेको बैठकमा उनले नेपालमा प्रयोग भइरहेका अधिकांश सामाजिक सञ्जाल प्लेटफर्महरू विदेशबाट सञ्चालन हुने भएकाले आवश्यक विवरण प्राप्त गर्न कठिनाइ भइरहेको उल्लेख गरे।
प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार ४ हजारभन्दा बढी फेक एकाउन्टबाट घृणा फैलाउनेसम्बन्धी उजुरी दर्ता भएका छन्। त्यस्तै, साइबर बुलिङ र ह्यारेसमेन्टका ३ हजारभन्दा बढी घटना प्रहरीमा पुगेका छन् भने सबैभन्दा बढी वित्तीय अपराधसम्बन्धी १० हजारभन्दा बढी उजुरी परेको उनले जानकारी दिए।
उनका अनुसार एकाउन्ट ह्याकिङ, अनलाइन ठगी, धम्की दिने तथा यौनजन्य हिंसासम्बन्धी गतिविधि पछिल्लो समय तीव्र रूपमा बढिरहेका छन्।
“साइबर बुलिङका घटना बढ्दो अवस्थामा छन्, तर सबैभन्दा बढी वित्तीय अपराध देखिन्छ—यो संख्या १० हजार नाघिसकेको छ,” कार्कीले भने, “फेक एकाउन्ट ४ हजारभन्दा बढी छन् भने बुलिङ र ह्यारेसमेन्टका ३ हजारभन्दा बढी घटना रिपोर्ट भएका छन्।”
उनले फेसबुक (Facebook), इन्स्ट्राग्राम (Instagram) लगायतका प्लेटफर्मबाट आवश्यक विवरण लिन कठिन हुने उल्लेख गर्दै कानुनी व्यवस्था कमजोर हुँदा अनुसन्धान प्रभावित भएको बताए।
कार्कीका अनुसार हालसम्म यस्ता विवरणहरू प्रायः व्यक्तिगत समन्वयका आधारमा प्राप्त गर्नुपरेको अवस्था छ, जसले प्रभावकारी अनुसन्धानमा अवरोध पुर्याएको छ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल नेपालमा दर्ता नभएको भन्दै गत वर्ष भदौमा फेसबुक र एक्स (X)जस्ता प्लेटफर्ममा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए। उक्त निर्णयविरुद्ध आन्दोलन चर्किँदा २३–२४ भदौका घटनाहरू समेत भएका थिए ।
यहि घटनाले नेपालको राजनीतिक कोर्ष नै बदलिदिएको थियो ।

