काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र रहेका सुकुमबासी बस्ती हटाउने निर्णय गरेको छ । भोलि शनिबार (१२ गते) बिहान ६ बजेदेखि बस्ती हटाउने अभियान सुरु गर्ने तयारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग समेत समन्वय गरिएको छ ।
निर्णयअनुसार पहिलो चरणमा थापाथली, मनहरा खोला किनार (जडीबुटी क्षेत्र) र गैह्रिगाउँस्थित अवैध बस्ती हटाइनेछ। ती स्थानमा बनेका घरटहरा डोजर प्रयोग गरी भत्काइने प्रशासनले जनाएको छ।
यसअघि नै स्थानीय प्रशासनले माइकिङमार्फत सूचना जारी गर्दै वैशाख ११ गते साँझ ७ बजेसम्म बस्ती खाली गर्न निर्देशन दिएको छ। घरमा रहेका सामान, चौपाया, बालबालिका, वृद्ध, गर्भवती तथा सुत्केरीलाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ।
प्रशासनले तोकिएको समयभित्र बस्ती खाली नगरे कानुनी कारबाही गरिने चेतावनी दिएको छ। साथै, हटाउने क्रममा अवरोध सिर्जना भए कडा कदम चालिने जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उक्त अभियानका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइनेछ।
यसैबीच प्रशासनले आगामी १० देखि १५ दिनभित्र वास्तविक भूमिहीनको पहिचान गरी उनीहरूका लागि वैकल्पिक बसोबासको व्यवस्था गर्ने विषयमा समेत छलफल भइरहेको जनाएको छ।

