काठमाडौँ । हाल मुलुकमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली भू–भाग र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भाग, साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका केही तराई क्षेत्रमा पनि यस्तै खालको वर्षा हुन सक्ने जनाइएको छ।
यसैबीच मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा उपत्यका र खोचहरूमा तापक्रम बढ्ने सम्भावना रहेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर (हीटवेभ) को जोखिम औंल्याइएको छ।
आज राति भने देशका हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ। साथै, कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ।

