अम्बिका वाइबा
बिगतको घना अँध्यारो चिर्दै
जनमुक्ति सेनाको पंक्तिमा म अघि बढेँ,
काँधमा सपना, मुटुमा क्रान्तिको ज्वाला,
आँखामा नयाँ समाजको उज्यालो बोकेर हिँडेँ।१।
मसँगै पाइला मिलाउने साथी
मेरै आँखाअघि सहिद हुँदा,
गोलीको गर्जनले केवल उसको जीवन होइन,
मेरो बाल्यकाल पनि टुक्राटुक्रा पारिदियो।२।
पुस्तक समाउने उमेरमा
मैले बन्दुकको भारी बोकेँ,
विद्यालयको घण्टी सुन्नुपर्ने कानले
युद्धको गर्जना सुने।
सायद यही कारण
मेरो पढाइले उज्यालो बाटो समात्न सकेन।३।
सानैमा आमा गुमाएँ,
आमाको माया कस्तो हुन्छ
जीवनले कहिल्यै महसुस गराएन।
संघर्ष नै मेरो पाठशाला बन्यो,
पीडा नै मेरो शिक्षक।४।
आन्दोलनले केही त बदल्यो,
अन्यायको पर्खालमा चिरा पर्यो,
तर आमूल परिवर्तनको सपना
अझै आफ्नै आँखामा झुण्डिएको छ।
देश आज पनि
माओवादीले कोरेको बाटोमै हिँडिरहेको छ,
तर शासन र सत्ताको कुर्सीमा
राजनीतिक चेतनाभन्दा फरक अनुहार छन्।५।
कम्युनिस्ट एकताको अभावले
वर्गीय पक्षधरता हराउँदै गयो,
जनताको पसिनाले बोल्ने आवाज
सत्ताको स्वादमा बिलायो।
तैपनि म थाकेको छैन,
सहिदका रगतले लेखिएको इतिहास
अझै मेरो मुटुमा बलिरहेकै छ।६।
परिवर्तन अधुरो छ,
तर सपना मरेको छैन।
क्रान्तिको आगो
अझै मेरो शिरा–शिरामा बगिरहेको छ।७।

