काठमाडौं । राइड सेयरिङ चालकहरूले सेवाग्राहीसँग निजी कुराकानी गर्ने, अपशब्द बोल्ने तथा त्यसलाई भिडियो रेकर्ड गरी सामाजिक सञ्जालमा पोस्ट गर्ने घटनाप्रति नेपाल प्रहरीले सचेत गराएको छ।
पुरुष र महिला गरी राइड सेयरिङ प्रयोगकर्ता लाखौँको संख्यामा छन्। बिहान, दिउँसो मात्र नभई राति पनि सेवाग्राहीले राइड सेयरिङ एपको प्रयोग गर्ने गरेका छन्। यस्तो अवस्थामा राइडरको अनुचित व्यवहारले सेवाग्राहीको गोपनीयताको हक उल्लंघन हुने गर्दछ।
जिल्ला प्रहरी परिसर काठमाडौंले राइड सेयरिङ चालकहरूलाई सेवाग्राहीसँग अनावश्यक निजी कुराकानी नगर्न, अपशब्द तथा गालीगलौज प्रयोग नगर्न, मर्यादित र व्यावसायिक भाषामा बोल्न तथा शिष्ट व्यवहार गर्न निर्देशन दिएको छ।
प्रहरीले चालकहरूले आफ्नो व्यवहार नसुधारेमा पक्राउ गरी कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
नेपालमा Pathao, inDriver र Yango लगायतका राइड सेयरिङ एपहरू अत्यन्त लोकप्रिय छन्। काठमाडौं, पोखरा लगायतका सहरहरूमा दैनिक लाखौँले यो सेवा प्रयोग गर्दै आएका छन्।

