काठमाडौं। सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदललाई श्रम संस्कृति पार्टीले संविधान संशोधनबारे प्रस्ताव पठाएको छ। बिहीबार श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उक्त प्रस्ताव पठाएका हुन्।
अध्यक्ष साम्पाङले पठाएको प्रस्तावमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख वा राष्ट्रपतिको व्यवस्था हुनुपर्ने उल्लेख छ। प्रस्तावमा ‘जनताद्वारा प्रत्यक्ष चुनिने कार्यकारी प्रमुख (राष्ट्रपति)’ को व्यवस्था गर्नुपर्ने भनिएको छ।
त्यस्तै, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले आफूअनुकूल व्यक्तिलाई मन्त्री बनाउन पाउने व्यवस्था गर्नुपर्ने गरी संविधान संशोधन गर्न प्रस्ताव गरिएको छ।
मन्त्री छनोट गर्दा सबै जाति, समुदाय र लिङ्गका आधारमा समावेशी प्रकार र चरित्रका व्यक्तिहरू छनोट गर्नुपर्ने व्यवस्था गर्न साम्पाङले प्रस्ताव गरेका छन्।
संसद्को कामकारबाहीका विषयमा पनि उनले केही संशोधन गर्न माग गरेका छन्। संसद्लाई कानुन बनाउने थलोको रूपमा विकास गर्नुपर्ने जनाउँदै कार्यकारी प्रमुख निरंकुश बनेमा महाअभियोग लगाउन सकिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।
त्यस्तै, राज्य प्रणालीलाई पूर्ण रूपमा समावेशी बनाउनुपर्ने उनको प्रस्ताव छ। ‘सबै जातजातिका नागरिकलाई राज्यका सबै अंगहरूमा सहभागी गराउने, राजनीतिक पद तथा सेना, प्रहरी लगायत सबै कर्मचारी संयन्त्रमा सहभागिता सुनिश्चित गर्ने’ प्रस्तावमा भनिएको छ।
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले सबै राजनीतिक दलसँग संविधान संशोधनका विषयमा प्रस्ताव मागेको थियो। सोहीअनुसार श्रम संस्कृति पार्टीले प्रस्ताव पेश गरेको हो।
आज अपराह्न ३ बजे कार्यदलको बैठक बस्दै छ। बैठकमा संविधान संशोधन बहसपत्र तयार गर्ने विषयमा छलफल हुने जनाइएको छ।
Previous ArticleBLE परीक्षामा क्यान्भास वसन्त ॠतु स्कूलको सर्वोत्कृष्ट नतिजा : ४ GPA सहित सबै विद्यार्थीहरू उत्तीर्ण
Next Article राइड सेयरिङ चालकलाई प्रहरीको कडा चेतावनी

