काठमाडाैं । धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ।
निर्वाचन आयोगका अनुसार बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुष्टि भएपछि रास्वपाबाट उमेदवार रहेका कमलको मनोनयन रद्द गरिएको हो।
आयोगले जनाएअनुसार कर्जा सूचना केन्द्रको अद्यावधिक विवरणमा कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी साह २०८० सालमा कालोसूचीमा परेको उल्लेख छ।
साथै, विभिन्न मितिमा उनको नाम एकल तथा संयुक्त रूपमा चेक बाउन्ससम्बन्धी कालोसूचीमा समावेश भएको विवरण समेत फेला परेको आयोगले जनाएको छ।
धनुषा–१ मा अन्य प्रमुख प्रतिस्पर्धीहरूमा रामचन्द्र मण्डल (एमाले), रामपलटन साह (कांग्रेस), मातृका प्रसाद यादव (नेकपा), दीपक कार्की (जसपा) र ब्रहमदेव महतो (जनमत) रहेका छन्।
कमलको उम्मेदवारी रद्द भएसँगै धनुषा–१ को चुनावी समीकरणमा नयाँ मोड आएको छ।

