काठमाडौं । मध्यपूर्वमा चर्किँदै गएको क्षेत्रीय तनावका बीच संयुक्त राज्य अमेरिकाले खाडी मुलुकस्थित आफ्ना दूतावास र कूटनीतिक मिसनहरू बन्द गर्ने घोषणा गरेको छ।
संयुक्त राज्य अमेरिकाले यसअघि नै जोखिमपूर्ण क्षेत्रमा रहेका आफ्ना कर्मचारी र नागरिकलाई देश छोड्न निर्देशन दिइसकेको थियो। पछिल्लो निर्णयसँगै कूटनीतिक गतिविधि थप संकुचित भएको छ।
साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासले मंगलबारदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि सबै सेवा बन्द गरेको जनाएको छ। दूतावासले सामाजिक सञ्जाल ‘एक्स’मार्फत साउदी अरबमा रहेका अमेरिकी नागरिकलाई दूतावास परिसरबाट टाढा रहन आग्रह गरेको छ।
यसअघि साउदी अधिकारीहरूले रियादस्थित दूतावासमा दुईवटा ड्रोन प्रहार भएको पुष्टि गरेका थिए।
त्यसैगरी कुवेतस्थित अमेरिकी दूतावासले पनि अर्को सूचना जारी नभएसम्म सम्पूर्ण सेवा निलम्बन गरेको जनाएको छ।
अमेरिकी विदेश विभागले गैर–आवासीय कर्मचारी तथा उनीहरूका परिवारलाई बहराइन, जोर्डन र इराक छोड्न आदेश दिएको छ। साथै ती देशमा रहेका सरकारी कर्मचारी र परिवारलाई स्वैच्छिक प्रस्थानको अनुमति दिन आग्रह गरिएको छ।
गत शनिबार इरानमा अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको आक्रमणपछि क्षेत्रीय द्वन्द्व चर्किएको छ। उक्त आक्रमणमा इरानका सर्वोच्च नेतासहित उच्च कमान्डरहरूको मृत्यु भएको दाबी गरिएको थियो। त्यसको प्रतिक्रियास्वरूप इरानले इजरायल र अन्य क्षेत्रीय संरचनामाथि मिसाइल तथा ड्रोन आक्रमण सुरु गरेको जनाएको छ।
दूतावास सेवा निलम्बनको निर्णयले मध्यपूर्वमा कूटनीतिक र सुरक्षा अवस्था झन् जटिल बन्दै गएको संकेत गरेको छ।

