काठमाडौं । राजधानीका दुई फरक स्थानमा मंगलबार बिहान दुई वटा गाडीमा आगजनी गरिएको छ।
प्रहरीका अनुसार सुकेधारा र नैकाप क्षेत्रमा बिहान करिब ३ बजेतिर गाडीमा आगो लगाइएको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेका अनुसार सुकेधारामा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी भएको हो।
घटनास्थलमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको नाम उल्लेख गरिएको पर्चा भेटिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

