गोरखा : वैदेशिक रोजगारीका लागि चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस श्रेष्ठको ड्रोन आक्रमणमा मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ।
चामबहादुर र पवित्रा श्रेष्ठका एकमात्र छोरा दिवस गत वर्षको दशैँमा घर आएका थिए। गाउँकै सरस्वती माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका उनले काठमाडौँबाट ‘ओभरसियर’ अध्ययन पूरा गरेका थिए। स्वदेशमै रोजगारी नपाएपछि विदेशिएका उनले आगामी दशैँमा घर फर्केर विवाह गर्ने योजना सुनाएका थिए। तर त्यो सपना अधुरै रह्यो।
परिवारका अनुसार अघिल्लो दिनसम्म ‘भिडियो कल’मा कुराकानी गरेका दिवस भोलिपल्टै सदाका लागि अस्ताए। उनका काका प्रदीप श्रेष्ठका अनुसार उनी मिडल इस्ट कम्पनीमार्फत सेक्युरिटी गार्डका रूपमा दुबई पुगेका थिए।
“शनिबार साँझ मात्रै घरपरिवारसँग भिडियोमा कुरा भएको रहेछ। आकाशमा मिसाइल पड्किरहेको छ भनेका रहेछन्,” प्रदीपले भने, “त्यसपछि सम्पर्क टुट्यो। साथीभाइसँग बुझ्दा भागदौडमा मोबाइल हराएको र खुट्टामा चोट लागेको खबर पाएका रहेछन्।”
अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार सूचना जारी गर्दै अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा गोरखाका २९ वर्षीय श्रेष्ठको मृत्यु भएको पुष्टि गरेको छ। दूतावासका अनुसार घटनाबारे युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको हो।
हाल गाउँमा बुबा चामबहादुर र हजुरआमा छन्। आमा पवित्रा छोरी भेट्न काठमाडौँ गएकी छन्। वडाध्यक्ष नारायण श्रेष्ठका अनुसार परिवार शोकमा स्तब्ध छ। “शव कहिले आउँछ भन्ने निश्चित छैन। परिवारले आमा र दिदीलाई उतै लैजाने कि शव ल्याउने भन्ने सल्लाह गरिरहेको छ,” उनले बताए।
दिवसको असामयिक निधनले बोर्लाङ ठाँटीका बासिन्दा स्तब्ध बनेका छन्। “उहाँ गाउँको मिलनसार, इमान्दार युवा हुनुहुन्थ्यो। आमाबुबाको कोखै रित्तियो,” काका प्रदीपले भने।

