काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो दल पहिलो शक्ति बन्ने दाबी गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका संयोजकसमेत रहेका उनले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा वाम बुद्धिजीवीसँगको छलफलमा एक अनुसन्धान प्रतिवेदन उद्धृत गर्दै प्रत्यक्षतर्फ मात्रै आफ्नो पार्टी नेकपाले ६५ देखि ७० सिटसम्म जित्ने सम्भावना रहेको बताए।
निर्वाचनसम्म थप मेहनत गर्न सके नतिजा अझ राम्रो आउन सक्ने भन्दै उनले चुनावी कार्यक्रम र प्रतिबद्धतापत्र जनतासम्म प्रभावकारी रूपमा पुर्याउन नेता–कार्यकर्तालाई निर्देशन दिए।
पार्टीका पक्षमा जनमत निर्माण गर्न बुद्धिजीवीहरूको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै उनले प्रतिबद्धतापत्र हरेक वडासम्म, हरेक नागरिकसम्म पुर्याउन विशेष जोड दिए।
“अब निष्पक्ष निर्वाचन हुने हो भने परिणाम राम्रै आउने देखिन्छ,” उनले भने।

