काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सुधार गर्ने लक्ष्यसहित विशेष कक्षा सञ्चालन सुरु गरेको छ। महानगरको शिक्षा विभागले गत वर्ष ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका विद्यालयलाई लक्षित गर्दै यो कार्यक्रम अघि बढाएको हो।
नमराज ढकालका अनुसार पहिलो चरणमा धेरै विद्यार्थी अध्ययनरत रहेका छ वटा विद्यालयमा विशेष कक्षा सुरु गरिएको छ। गीतामाता माध्यमिक विद्यालय, कोटेश्वर सरस्वती माध्यमिक विद्यालय, जुद्धोदय माध्यमिक विद्यालय, पद्मकन्या माध्यमिक विद्यालय, परोपकार माध्यमिक विद्यालय र गुहेश्वरी बालशिक्षा माध्यमिक विद्यालयमा विशेष कक्षा शुरु भएका हुन् ।
यी विद्यालयका ५२३ विद्यार्थी विशेष कक्षामा सहभागी हुने महानगरले जनाएको छ। विशेष कक्षामा विषय विज्ञ, स्रोत शिक्षक तथा सेवानिवृत्त शिक्षकहरूले कक्षा सञ्चालन गर्ने महानगरले जनाएको छ।
त्यसैगारी न्यून नतिजा र न्यून विद्यार्थी भएका प्रभात माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, भक्त विद्याश्रम माध्यमिक विद्यालय र नन्दी रात्री माध्यमिक विद्यालयमा भने चैत ३ गतेपछि विशेष कक्षा सञ्चालन हुने छ।
ती विद्यालयका १०४ विद्यार्थी कार्यक्रमबाट लाभान्वित हुने बताईएको छ ।
दुवै चरण गरी कुल ६२७ विद्यार्थीलाई विशेष कक्षा प्रदान गरिने महानगरले जनाएको छ।
कार्यक्रमको सुरुआत गर्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विद्यार्थीमा परीक्षाको डर हटाउने, आत्मविश्वास बढाउने र उत्तर लेख्ने सीप विकास गर्ने उद्देश्यले विशेष कक्षा सञ्चालन गरिएको बताइन्।

