काठमाडौँ । विमला घिमिरे ले वर्तमान निर्वाचन प्रणालीमै सुधार नभएसम्म महिला उम्मेदवारको सहभागिता उल्लेख्य रूपमा बढाउन नसकिने बताएकी छन्।
राष्ट्रिय सभाकी उपाध्यक्ष घिमिरेले बुधबार सिंहदरबार स्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै विद्यमान निर्वाचन प्रणालीकै कारण महिलाको उम्मेदवारी कम भएको स्पष्ट पारिन्।
निर्वाचन अत्यन्त खर्चिलो भएकाले प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या बढाउन कठिन भएको उनले बताइन्। उनले भनिन्– “निर्वाचन प्रणाली महँगो भएकाले धेरै महिलाले प्रत्यक्ष चुनावमा भाग लिन सक्ने अवस्था छैन।”
उपाध्यक्ष घिमिरेले आफूलाई पनि प्रत्यक्षतर्फ चुनाव लड्न पार्टीले प्रस्ताव गरेको तर अत्यधिक खर्च लाग्ने भएकाले उम्मेदवारी दिने आँट गर्न नसकेको तीतो अनुभव सुनाइन्।

