काठमाडौं । आईसीसी टी–२० विश्वकपको सुपर एट चरणमा सहआयोजक श्रीलंका प्रतियोगिताबाट एक खेल बाँकी रहँदै बाहिरिएको छ। कोलोम्बोमा गएराति भएको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित भएपछि श्रीलंकाको सेमिफाइनल यात्रा समाप्त भएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रनको प्रतिस्पर्धी लक्ष्य तयार गर्यो। कप्तान मिचेल सान्टनर र कोल म्याककन्कीबीच भएको ८४ रनको महत्वपूर्ण साझेदारीले टोलीलाई बलियो आधार दियो। सान्टनरले २६ बलमा ४७ रन बनाए भने रचिन रविन्द्र (३२) र फिन एलेन (२८) ले पनि उपयोगी योगदान गरे।
बलिङतर्फ रविन्द्रले ४ विकेट लिँदै खेल न्युजिल्यान्डतर्फ झुकाए भने म्याट हेनरीले किफायती बलिङ गर्दै २ विकेट लिए।
१६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो। कामिन्दु मेन्डिसले सर्वाधिक ३१ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। दुनिथ वेलालगे (२९), कुसल मेन्डिस (११) र पवन रत्नायके (१०) बाहेक अन्य ब्याटर चल्न सकेनन्।
लगातार दुई हारसँगै समूह २ मा अङ्कविहीन बनेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको हो। सन् २०१४ मा उपाधि जितेपछि श्रीलंका अहिलेसम्म सेमिफाइनल पुग्न सकेको छैन।
समूह समीकरण : इंग्ल्यान्ड अघि, न्युजिल्यान्डको अन्तिम मौका
समूह २ मा इङ्ग्ल्यान्ड ४ अङ्कसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेको छ। ३ अङ्कसहित दोस्रो स्थानमा रहेको न्युजिल्यान्डले अन्तिम खेलमा इंग्ल्यान्डलाई हराए सेमिफाइनल यात्रा तय गर्नेछ।
आजका खेल वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीच अहमदाबादमा हुने छ भने भारत र जिम्बाब्वे बीच चेन्नईमा हुने कार्यतालिका छ ।
विश्वकप रोमाञ्चक मोडमा पुगेको छ, अब सेमिफाइनल समीकरण अन्तिम खेलले तय गर्नेछ।

