काठमाडौँ । अनिलकुमार सिन्हा ले नेपाली चलचित्र उद्योगको दिगो विकासका लागि आधुनिक नीति, प्रविधि र लगानीमैत्री वातावरण अपरिहार्य रहेको बताएका छन्।
सेलिब्रेटी नेपाल फाउन्डेसनद्वारा आयोजित ‘विराट फिल्म एण्ड म्युजिक अवार्ड–२०८२’ कार्यक्रममा बोल्दै उनले चलचित्र क्षेत्रको व्यवसायीकरणले रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण र आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
मन्त्री सिन्हाले गुणस्तरीय फिल्म निर्माण, नीतिगत सुधार र पूर्वाधार विकासमार्फत मात्र नेपाली चलचित्र उद्योगलाई व्यावसायिक, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउन सकिने धारणा व्यक्त गरे। साथै, क्षेत्रमा देखिएका विकृतिहरू हटाउँदै लगानीकर्तालाई आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
उनले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने र दर्शकलाई पुनः हलसम्म आकर्षित गर्ने जिम्मेवारीमा चलचित्र व्यावसायीहरूको सक्रिय भूमिका आवश्यक रहेको पनि बताए।
कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको समग्र विकासका लागि समयानुकूल नीति तथा कानुन कार्यान्वयन अपरिहार्य रहेको बताए ।

