झापा । झापा जिल्ला स्थित नेपाल–भारत सीमा क्षेत्रमा संगठित रूपमा स्क्याम (ठगी) गर्दै आएको एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। करिब १२ करोड रुपैयाँ बराबरको नक्कली नोटको भ्रम सिर्जना गरी ठगी गर्ने योजना बनाइरहेका ६ भारतीय र एक नेपालीसहित ७ जनालाई विभिन्न किर्ते कागजात र सामग्रीसहित पक्राउ गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालको टोलीले मंगलबार साँझ चन्द्रगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको अवस्थामा भद्रपुर क्षेत्रबाट दुईवटा भारतीय नम्बर प्लेटका गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गिरोहले नोटको आकारका सादा कागजको बन्डल बनाएर अगाडि–पछाडि सक्कली नोट राखी भिडियो खिच्ने र त्यसैलाई आधार बनाएर ठूलो रकमको ठगी गर्ने योजना बनाएको थियो। प्रहरीले मेचीनगर–४ आमडाँगीबाट २१ वटा टिनका बक्सा र २३७ बन्डल नोट आकारका सादा कागज बरामद गरेको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट नेपाल सरकारको नक्कली निशानछाप, नेपाल प्रहरीको किर्ते परिचयपत्र, सरकारी कार्यालयका किर्ते पत्र तथा छापसमेत बरामद भएको छ। ती कागजातलाई सक्कली प्रमाणित गराउन नोटरी पब्लिकबाट प्रमाणीकरण गर्ने उद्देश्यले उनीहरू चन्द्रगढी पुगेको जानकारी खगेन्द्रबहादुर खड्काले दिएका छन्।
पक्राउ परेका सातै जनामाथि मुलुकी अपराध संहिता २०७४ अनुसार ‘लिखत सम्बन्धी कसुर’ अन्तर्गत मुद्दा चलाइने तयारी गरिएको छ। प्रहरीले गिरोहले विगतमा पनि सीमा क्षेत्रमा धेरैलाई ठगी गरेको हुन सक्ने आशंका गर्दै सम्भावित पीडितलाई सम्पर्क गर्न आग्रह गरेको छ।

