काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटक आवागमनका लागि सवारी साधन सञ्चालन गर्न विशेष अनुमति व्यवस्था गरेको छ। आयोगले जारी गरेको ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ अनुसार पर्यटकको सवारी साधन कम्तीमा दुई दिनअघि अनुमति लिएर सञ्चालन गर्न सकिने व्यवस्था गरिएको हो।
निर्वाचनका दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडान नरोकिने भएकाले हवाइमार्गबाट आउने–जाने पर्यटकको सहज आवागमन सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट तथा काठमाडौँका हकमा आयोगबाट कम्तीमा दुई दिनअघि अनुमति लिएपछि मात्रै पर्यटक बोक्ने सवारी साधन सञ्चालन गर्न पाइनेछ।
यसैगरी, राजमार्गमा सञ्चालन हुने सवारी साधनको आवागमनलाई व्यवस्थित बनाउन पनि कार्यविधिमा स्पष्ट व्यवस्था गरिएको छ। अत्यावश्यक सेवा, कूटनीतिक नियोग तथा मानव अधिकार आयोगका सवारीबाहेक अन्य सवारी साधन भने अनुमति लिएर मात्र सञ्चालन गर्न पाइने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

