काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ। यसका कारण देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आज बिहान तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ।
ती प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति तराईका केही स्थानमा तुवाँलो लाग्ने सम्भावना छ। हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने जनाइएको छ।
महाशाखाले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

