काठमाडौं । काठमाडौं क्षेत्र नं. १० बाट स्वतन्त्र उम्मेदवार देवकुमार श्रेष्ठ प्रेसर कुकर चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका कोषाध्यक्षसमेत रहेका श्रेष्ठले पछिल्लो समय सहकारी पीडितको आवाजलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
हिजो १६ गते कीर्तिपुरको पाङ्गामा आयोजित उनको चुनावी सभामा सहकारी पीडितहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। जीवनभरको कमाइ सहकारीमा गुमाएका सर्वसाधारणहरूको पीडालाई राजनीतिक मुद्दा बनाउँदै आएका श्रेष्ठले फेरि एकपटक अडान दोहोर्याए— “बचत फिर्ता नभएसम्म विश्राम छैन।”
उनले भने, “राजनीति भनेको जनताको दबाब घटाउने माध्यम हो, भाषणको मञ्च होइन।” महँगी, बेरोजगारी, आवास संकट, अव्यवस्थित शहरी जीवन र आधारभूत सेवामा असमानता उनका प्रमुख चुनावी मुद्दा रहेको उनले स्पष्ट पारे।
सोही समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पनि सोही क्षेत्रमा चुनावी सभा आयोजना गरिएको थियो। तर श्रेष्ठ पक्षधरहरूले आरोप लगाएअनुसार त्यहाँ भीडभाड र होहल्ला मात्र देखिएको थियो, सहकारी पीडितको मुद्दा भने उठाइएको थिएन।
कार्यक्रममा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष कुश्लभ के.सी. को पनि उपस्थिति रहेको थियो। उनले सहकारी ठगीबाट पीडित नागरिकको न्याय सुनिश्चित गर्न राजनीतिक प्रतिबद्धता आवश्यक रहेको धारणा राखेका थिए।
स्थानीयवासीका अनुसार, पाङ्गाको सभा सहकारी पीडितहरूको पीडालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने दुर्लभ राजनीतिक मञ्च बनेको थियो। काठमाडौं–१० मा सहकारी मुद्दा चुनावी बहसको केन्द्र बन्दै गएको देखिएको छ।

