काठमाण्डौ । काठमाडौंमा जारी भिडियो सन्देशमार्फत पूर्व प्रधान्नमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा आम जनसमुदायलाई सम्बोधन गरेका छन्। उनले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजकसमेत रहेका उनले जेन्जी आन्दोलनपछिको अनिश्चित राजनीतिक अवस्थाको स्मरण गर्दै अन्तरिम सरकार गठनका लागि आफूहरूले सहजीकरण गरेको र ताजा जनादेशका लागि अडान लिएको उल्लेख गरे। देशलाई निर्वाचनसम्म ल्याउन आफ्नो दलले महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै त्यसको मूल्याङ्कन इतिहासले गर्ने बताए।
सरकारको नेतृत्वमा रहँदा सुशासनको सुरुवात गरिएको, विधिको शासन स्थापित गर्ने प्रयास गरिएको तथा ठूला भ्रष्टाचार काण्डहरू उजागर गरिएको उनले दाबी गरे। सो क्रममा सुशासनबाट अत्तालिएका शक्तिहरूले संसदका पहिलो र दोस्रो दललाई एकै ठाउँमा उभ्याएको आरोप पनि उनले लगाए।
त्यसपछि प्रतिपक्षमा रहँदा पनि कुशासन, दम्भ र अहंकारविरुद्ध निरन्तर संघर्ष गरेको उल्लेख गर्दै उनले यस निर्वाचनमा जनताले सबै दलको भूमिकाको निष्पक्ष मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरे र आफ्नो दललाई मत दिन अपिल गरे।
निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी तथा मतदातालाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गर्दै उनले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन निर्वाचन सफल बनाउनु सबैको साझा दायित्व भएको बताए।

