काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएको दाबी गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै खामेनीलाई “इतिहासकै सबैभन्दा क्रूर व्यक्तिमध्ये एक” भन्दै उनको मृत्यु विश्वका लागि न्याय भएको दाबी गरेका छन्।
यो दाबी त्यतिबेला आएको हो जब इजरायलले शनिबार तेहरानसहित इरानका विभिन्न सहरमा हवाई आक्रमण गरेको थियो। उक्त आक्रमणमा अमेरिकाको पनि संलग्नता रहेको ट्रम्पले बताएका छन्।
एबीसी न्युजसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले अमेरिकी आक्रमणले इरानको नेतृत्व संरचनामा “ठूलो क्षति” पुर्याएको दाबी गरे। उनका अनुसार नेतृत्व तहका धेरै व्यक्तिहरू हटिसकेका छन् र इरानको सम्भावित नयाँ नेतृत्वबारे अमेरिकासँग पर्याप्त जानकारी रहेको पनि उनले बताएका छन्।
यता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि संयुक्त आक्रमणपछि खामेनी जीवित नरहेको संकेत बलियो बन्दै गएको बताएका छन्। यसअघि सार्वजनिक भएका स्याटेलाइट तस्बिरहरूले तेहरानस्थित खामेनीको निवास क्षेत्रमा क्षति पुगेको देखाएका थिए।
धेरै दिनदेखि सार्वजनिक रूपमा देखिएका थिएनन् खामेनी
८६ वर्षीय खामेनी इरानका सर्वोच्च कमान्डर इन चिफ हुन् र देशका राजनीतिक तथा धार्मिक मामिलामा अन्तिम निर्णय गर्ने अधिकार उनीसँगै छ। इरानको अर्धसैनिक क्रान्तिकारी गार्ड प्रत्यक्ष रूपमा उनलाई जवाफदेही हुन्छ।
सन् १९८९ मा रुहोल्लाह खोमेनीको निधनपछि खामेनी सर्वोच्च नेता बनेका थिए। उनी १९७९ को इस्लामिक क्रान्तिका प्रमुख पात्रमध्ये एक मानिन्छन्, जसले शाह शासन अन्त्य गरेको थियो।
शनिबारको आक्रमणमध्ये एक प्रहार खामेनीको कार्यालय नजिकै भएको बताइए पनि घटनाको समयमा उनी कहाँ थिए भन्ने स्पष्ट छैन। उनी केही दिनदेखि सार्वजनिक रूपमा नदेखिएकाले घटनाबारे थप रहस्य बढेको छ।

