काठमाण्डौ । बेइजिङले अमेरिका र इजरायलद्वारा इरानमा गरिएको आक्रमणमा इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको घटनाप्रति कडा शब्दमा विरोध जनाएको छ।
चीनले यस घटनालाई इरानको सम्प्रभुता र सुरक्षामाथिको गम्भीर उल्लङ्घन भन्दै तत्काल सैन्य कारबाही रोक्न आह्वान गरेको छ।
चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त हत्या संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्तविरुद्ध तथा अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यतामाथिको अतिक्रमण भएको उल्लेख गर्दै यसको कडा निन्दा गरिएको जनाएको छ। विज्ञप्तिमा “इरानमाथिको सैन्य कारबाही तत्काल रोकिनुपर्छ” भन्ने स्पष्ट सन्देश दिइएको छ।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार बेइजिङका उच्च कूटनीतिज्ञ वाङ यी र रुसी समकक्षी सर्गेइ लाभरोभबीच टेलिफोन वार्ता भएको थियो। उक्त संवादमा वाङले इरानका उच्च अधिकारीलाई लक्षित गरी भएको आक्रमणप्रति चीनको असन्तुष्टि व्यक्त गर्दै सार्वभौम नेताको खुलेआम हत्या र सत्ता परिवर्तनका लागि उक्साउने कार्य चीनका लागि ‘अस्वीकार्य’ रहेको बताएका थिए।
सिन्ह्वाका अनुसार वाङले मध्यपूर्वको विकसित घटनाक्रमले क्षेत्रीय सुरक्षालाई खतरनाक मोडमा पुर्याउन सक्ने भन्दै चीन गम्भीर रूपमा चिन्तित रहेको उल्लेख गरे। उनले अन्तर्राष्ट्रिय समुदायले ‘अराजक गतिविधि’ र विश्व प्रतिगमनको विरोधमा स्पष्ट सन्देश दिनुपर्ने धारणा राखे।
यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि उक्त हत्यालाई मानव नैतिकता र अन्तर्राष्ट्रिय कानुनका सबै मान्यताको उल्लङ्घन भएको बताएका छन्।
आक्रमणका क्रममा कम्तीमा एक चिनियाँ नागरिक घाइते भएको र केही अस्थायी यात्रु अलपत्र परेको बेइजिङको विदेश मन्त्रालयले जनाएको छ। प्रभावित चिनियाँ नागरिकहरूको सङ्ख्या, अवस्था र स्थानबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
बेइजिङले केही दिनअघि नै इरानमा रहेका आफ्ना नागरिकलाई जतिसक्दो चाँडो त्यहाँबाट बाहिरिन आग्रह गरेको थियो। विदेश मन्त्रालयले आइतबार पुनः आह्वान दोहोर्याउँदै चिनियाँ राहदानीवाहकहरूले इरानबाट अजरबैजान, अर्मेनिया र टर्कीएतर्फ भिसामुक्त स्थलमार्ग प्रयोग गर्न सक्ने जानकारी दिएको छ।

