–विश्वनाथ खरेल
फागु भनेको फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म परस्परमा रंग छ्यापेर तथा अबिर दलेर नाच्ने गाउने गरी विभिन्न किसिमका रंगहरुले एक अर्कोमा रमाइलो मनाउने उत्सव हो । यही उत्सवलाई फागु अर्थात होली नामबाट चिनिन्छ । यस पर्वलाई फागु वा होली भनेर उच्चारण गर्नुका पछाडि फागुन महिनामा पर्ने धेरै चाडहरु मध्ये यो पर्व एउटा रमाइलो चाड हो । यो पर्व होलीका नामकी राक्षसलाई मारेको खुशीमा मनाइने पर्व भएकोले होली या फागु भनिएको हो भन्ने कींवदन्ती छ । यसरी होलीका मरेको उपलक्ष्यमा सवैले खुशीयाली मनाउन होली खेल्ने चलन शुरु भएको कुरा भविष्य पुराणमा उल्लेख छ । यसर्थ वर्षमा एकचोटी आउँने चाड सभ्य तरिकाले कसैको इच्छाविपरित रंग नलगाएर आफू आफूमा मात्र खेल्यौ भने मात्र सही अर्थमा होलीको महत्व रहन्छ । नेपाली समाजमा फागु पर्वलाई विशेष उल्लासमय वातावरणमा मनाउने गरिन्छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्व यस वर्ष यही फागुन १८ गते सोमबार परेको छ तर पूर्वको सुरुवात भने एक साताअधि अर्थात फागुन शुक्ल अष्टमीदेखी हुने गर्दछ । फागु पर्वले नयाँ उत्साह, जोस, जाँगर र नवीन ऊर्जालाई छताछुल्ल गरी सामाजिक एकता र सद्रभाव मैत्री र भाइचारा जगाउने गर्दछ । यो उराठलाग्दो चिसो मौसमलाई बिदा गर्दै बसन्तको सिर्जनात्मक बिहानी बोकेर आउने एकसाता लामो फागु उत्सवको उष्कर्ष फागु पूर्णिमा नै हो । यसमा भन्ने नै हो भने सबै जाति, सबै धर्म, सम्पूर्ण संस्कृति प्रेमीको यो सिङ्गो चाड हाम्रो तराई क्षेत्रमा त झनै विशेष धूमधामका साथ मनाइन्छ । 
हाम्रो नेपाली समाजमा फागु पर्व पनि एउटा विशेष महत्व बोकेको चाड पनि हो । हरेक वसन्त ऋतुुको आगमन साथै वर्षमा एकचोटी आउने चाड सभ्य तरिकाले कसैको इच्छाविपरित रंग, लोला आदि प्रयोग नगरी आफ्ना दौतरी बीच रमाइलो गर्ने आनन्ददायक पर्व हो । यस पर्वमा भगवानको भजन कीर्तनको साथ साथै नाँचगान गरी विभिन्न किसिमका रंगहरुले एकआपसमा मिलेर अविर दल्दै आमोद प्रमोद गर्दै हाँसखेल ठट्टा गरेर आनन्द मनाउनु यो पर्वको मर्यादित गरिमा मान्न सकिन्छ । यस पर्वलाई अनुशासितरुपमा मनाउने परम्पराको मानसिकतालाई जीवन्त राख्नु सबैको परम कर्तव्य हो । यस पर्वलाई उमेरको हदवन्दी छैन्, त्यस्तै गरी राजा देखि रंकसम्म सबैले आपसमा मिलेर बढो उल्लासमय वातावरणमा रम्ने गर्दछन् । यसमा खास गरी युवायुवतीहरु बढो जाँगरका साथ यस पर्वमा बढिभन्दा बढि संख्यामा सहभागी हुन्छन् र रमाउंछन् ।
फागुपूर्णिमा अर्थात होलीको प्रचलन कसरी आयो त भनी खोतल्ने हो भने विभिन्न धार्मिक कथाहरु भेटिन्छन जसको कारणले होली पर्व चलेको छ । यसमा पनि भन्ने नै हो भने प्राचीनकालमा हिरण्यकश्यपु नामक राक्षसका प्रल्हाद नाम गरेका छोरा थिए, तर बाबु पापिष्ट राक्षस भए तापनि छोरा प्रल्हाद भने बडो विष्णुभक्त थिए । उनका बाबुले आफ्नो छोरालाई विभिन्न कोसिस गरेर आफ्नो बाटो अगाल्न लगाउंदा पनि भगवान विष्णुको भक्त प्रल्हादको डेग नचलेपछि आफ्नी बहिनी होलीकालाई हिरण्यकश्यपुले छोरा प्रल्हादलाई आगोमा हालेर मार्न लगाए । तर प्रल्हादको विष्णुभक्तिले गर्दा आगोले नजल्ने तपस्या पाएकी होलीका उल्टै भष्म भईन भने प्रल्हादलाई आगोले केही गर्न सकेन । सोही खुसीयालीमा होलीपर्व चलेको हो भन्ने किम्वदन्ती छ ।
फागु पूर्णिमाको एक हप्ता अगाडिदेखि नै आफ्नो कार्यालय, स्कूल, क्याम्पस, बाटो हिड्ने आदि व्यातिmहरुलाई जथाभावी रंगाइदिने, लोला हान्ने जस्ता घटना सामान्य भैसकेका छन । यस्तै किसिमको सामान्य घटनाहरुले उग्र रुप लिइ जनधनको ठूलो नोक्सान नहोला भन्न सकिन्न । यसमा पनि रंग उत्सवको खुशीयालीपूर्ण चाडलाई नबुझि हिंसात्मक वा त्रास र विकृतिपूर्ण रुपमा मनाउनु मुर्खता हो । फलतः संचारमाध्यमको भनाई अनुसार विभिन्न किसिमका रसायन मिसाइएको रंग, कालोमोसो, अबिरमा बालुवा, लोलामा नालीको लेदो, पोखरीको दूषित पानी बेलुनद्वारा हाल्ने जस्ता निन्दित एवं घृणित कार्य हुन्छ साथै यस्तो पवित्र दिन स्म्याक, हिरोइन, भांग, गाँजा, रक्सी खाई साथमा विभिन्न प्रकारका रंगहरुका पुरीया राखि मोटरसाइकलमा चढी सार्वजनिक स्थलहरुमा पुग्दछन् । तसर्थ देशका शहरका युवकहरु र विदेशी पर्यटकलाई समेत रंगहरुले विरुप पारिदिन्छन् । जुन होलीको नाममा यस्ता किसिमका उच्छृंखल कामले गर्दा देशको संस्कृति र उत्सवप्रतिको खँस्कींदो चाहना दिनप्रतिदिन बढ्दै गएको छ । तर विडम्बना हाम्रा यावत यस्ता महान र महामानव वनाउने यावत कार्यहरु हिजो आज आएर फेशन र मनोरञ्जनमा परिणत हुदैंछन् ।
अन्त्यमा भन्नुपर्दा प्राचीन कालदेखि मनाउंदै आएका विभिन्न चाडपर्वहरुमध्ये फागु वा होली पनि एउटा विशेष महत्वको चाड हो । वस्तुतः फागुन शुक्ल अष्टमीका दिन चीर गाडी अबीर छरेर पूजा गरी सुरु गरिने चाड पूर्णिमाको रातमा चीर बालेपछि समाप्त हुन्छ । मुख्य होलीको दिन एक आपसमा अबीर दलादल गर्ने र मीठामीठा पकबानहरु खाने चलन छ । यसमा भन्ने नै हो भने वर्षमा एकचोटी आउंने चाड सभ्य तरिकाले कसैको इच्छाविपरित रंग नलगाएर आफू आफूमा मात्र खेल्यौ भने मात्र सही अर्थमा होलीको महत्व रहन्छ । यो पर्व नेपाल र भारत लगायत विश्वभरी नै रमाइलो गरी मनाउने गरेका छन् । विश्वको एक मात्र हिन्दू राष्ट्र नेपालको आफ्नै संस्कृति र भेषभुषा रहेको छ । हाम्रो संस्कृति, सभ्यता परम्परानुसार वर्षभरि नै कुनै न कुनै पर्व पर्ने गर्दछ । कुनै पनि चाडपर्वको विशेषता नै चित्त शुद्ध पार्नु र शारीरिकरुपले निरोगी हुनु हो । जुन विशुद्ध उदेश्यबाट यो पर्व परापूर्वकालदेखि शुरु भयो सो अनुरुप हाल व्यवहारमा देखापर्न सकिरहेको छैन । यो पर्व नेपाल र भारत लगायत विश्वका अरु हिन्दूधर्मावलम्वीहरुले अति नै रमाइलो गरी मनाउने चाड हो । यस्ता किसिमका गलत प्रवृत्तिलाई हटाउन वेलैमा सम्पूर्ण नेपालीहरु सचेत हुनुको साथै सरकारले पनि कडाभन्दा कडा कानूनी प्रकृया पुयाई दरिलोकदम चाल्नु पर्दछ । यसले गर्दा हाम्रो धर्म र संस्कृतिमा कुनै किसिमको विकृतिको अन्त्य हुन जाने विश्वास लिन सकिन्छ ।

