काठमाडौँ- फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको अत्यन्त प्रतिस्पर्धात्मक खेलमा स्पेनले पोर्चुगललाई १–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको डलासमा सम्पन्न खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। खेल अतिरिक्त समयमा पुग्ने संकेत देखिइरहेका बेला दोस्रो हाफको इन्जुरी समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाएका हुन् ।
यो जितसँगै स्पेन १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुगेको छ। सन् २०१० मा विश्वकपको उपाधि जितेपछि स्पेन त्यसयता अन्तिम आठमा पुग्न सकेको थिएन। मेरिनोको अन्तिम क्षणको गोलले त्यो प्रतीक्षा अन्त्य गराएको हो।
यता, हारसँगै पोर्चुगलको विश्वकप यात्रा राउन्ड अफ–१६ मै टुङ्गिएको छ भने स्पेनले उपाधि यात्रालाई थप अघि बढाएको छ।

