काठमाडौँ – खराब मौसमका कारण साढे दुई घण्टासम्म प्रभावित भएको खेलमा फ्रान्सले इराकलाई ३–० ले हराउँदै विश्वकप फुटबलको अन्तिम ३२ अर्थात् नकआउट चरणमा स्थान पक्का गरेको छ।
फ्रान्सको जितमा केलियन एमबाप्पेले दुई गोल गरे भने ओसमान डेम्बेलेले एक गोल थपे। लगातार दोस्रो जित दर्ता गरेको फ्रान्सले समूह चरण पार गर्दै नकआउट यात्रा सुनिश्चित गरेको हो।
फ्रान्सले खेलको १४औँ मिनेटमै अग्रता लिएको थियो। आफ्नो राष्ट्रिय टोलीका लागि १००औँ खेल खेलिरहेका एमबाप्पेले आकर्षक गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए।
पहिलो हाफ समाप्त भएपछि प्रतिकूल मौसमका कारण खेल करिब दुई घण्टासम्म रोकिएको थियो। मौसममा सुधार आएपछि दोस्रो हाफ सुरु भएको खेलमा इराकले रक्षात्मक रणनीति अपनाए पनि फ्रान्सको दबाब थेग्न सकेन।
एमबाप्पेले ५४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। त्यसपछि डेम्बेलेले ६६औँ मिनेटमा गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे। डेम्बेलेको कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको यो पहिलो गोल हो।
यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई पराजित गरेको थियो भने इराक नर्वेसँग पराजित भएको थियो। लगातार दोस्रो हारसँगै इराकको समूह चरणबाटै यात्रा समाप्त भएको छ।

