काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई अपराह्न सुर्खेतबाट पक्राउ गरिएको छ।
पार्टीको चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलका सदस्यसमेत रहेका पौडेल सुझाव संकलन अभियानका क्रममा सुर्खेत पुगेका उनलाई सोमबार अपरान्ह पक्राउ गरिएको हो । कार्यदलले यसअघि कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सुझाव संकलन तथा भेला सम्पन्न गरिसकेको थियो। सोही अभियानअन्तर्गत उनी कार्यदलको टोलीसँगै सुर्खेतमा रहेका बेला पक्राउ परेका हुन्।
प्राप्त जानकारीअनुसार, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ। पक्राउअघि काठमाडौँको भैँसेपाटीस्थित उनको निवासमा सम्पत्ति शुद्धीकरणसम्बन्धी निकायको टोलीले छापा मारेको समेत बताइएको छ।
यद्यपि, पक्राउको आधिकारिक कारण, अनुसन्धानको अवस्था तथा सम्बन्धित निकायको औपचारिक धारणा भने सार्वजनिक हुन बाँकी रहेको छ।

