काठमाडौं ।
आफूलाई वैकल्पिक क्रान्तिकारी शक्ति दाबी गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) पछिल्लो समय आन्तरिक चुनौतीसँग जुधिरहेको देखिएको छ। पार्टीका प्रभावशाली नेता, वैचारिक बहसमा सक्रिय कार्यकर्ता र नेतृत्व तहका जिम्मेवार व्यक्तिहरू क्रमशः बाहिरिन थालेपछि संगठनभित्रको असन्तुष्टि सार्वजनिक बहसमा आएको हो।
पछिल्लो घटनाका रूपमा सचिवालय सदस्य तथा पूर्व संविधानसभा सदस्य उमा भुजेल ‘शिलु’ लाई पार्टी जिम्मेवारीबाट मुक्त गर्ने निर्णय बाहिरिएको छ। पार्टी नेतृत्वले उनलाई पार्टी लाइन विपरीत गतिविधि गरेको आरोप लगाए पनि भुजेलले भने आफूले केवल आत्मसमीक्षा, वाम एकता र संगठन सुधारको विषय उठाएको बताएकी छन्।
यस घटनाले पार्टीभित्र एउटा महत्वपूर्ण प्रश्न जन्माएको छ– फरक मत राख्ने आवाजलाई नेतृत्वले कसरी लिन्छ ? वैचारिक बहसको बाटो खुला छ कि अनुशासनको नाममा असहमति दबाइँदैछ ?
निर्वाचन रणनीतिदेखि संगठनात्मक संकटसम्म
विप्लव नेतृत्वको पार्टीमा देखिएको अहिलेको समस्या केही दिनमा आएको होइन। यसको पृष्ठभूमि २०७९ सालको स्थानीय तह निर्वाचनसँग जोडिन्छ।
निर्वाचनमा सहभागी हुने वा नहुने विषयमा पार्टीभित्र गम्भीर मतभेद देखिएको थियो। एक पक्षले संसदीय व्यवस्थाको विरोध गर्दै आएको पार्टी चुनावमा जान नहुने तर्क राखेको थियो भने नेतृत्व पक्षले निर्वाचनलाई राजनीतिक प्रयोगको रूपमा लिनुपर्ने धारणा अघि सारेको थियो।
यही विवादपछि धर्मेन्द्र बास्तोला ‘कञ्चन’, हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लगायतका नेताहरू अलग हुँदै नेकपा (बहुमत) गठन गर्न पुगे। यसले पार्टीको संगठनात्मक संरचनामा ठूलो प्रभाव पारेको विश्लेषण गरियो।
निरन्तर भइरहेको नेतृत्व पलायन
पछिल्ला वर्षहरूमा कर्णजित बुढाथोकी, चिरन पुन, जितेन्द्र दाहाल,शरद रसाइली लगायतका नेताहरूले पनि पार्टी छाडे। त्यस्तै चिरञ्जीवी ढकाल, प्रकाश जप्रेल लगायतका नेताहरू समेत अलग भएपछि विप्लव नेतृत्वमाथि संगठन व्यवस्थापनको प्रश्न उठ्दै आएको छ।
पार्टी नेतृत्वले यस्ता घटनालाई संगठन शुद्धीकरणको प्रक्रिया भन्दै आए पनि बाहिरबाट हेर्नेहरूले यसलाई वैचारिक संकटको संकेतका रूपमा व्याख्या गरेका छन्।
विश्वासपात्रबाटै उठेको प्रश्न
पछिल्लो समय विप्लवका निकट मानिएका चन्द्र खड्का ‘असल’ को बहिर्गमनले पनि चर्चा पायो। लामो समय महासचिवको सचिवालयसँग जोडिएका असलले कम्युनिस्ट आन्दोलनमा आत्मसमीक्षा, पुनर्गठन र वैचारिक बहस आवश्यक रहेको धारणा राखेका थिए।
उनको भनाइ थियो– आन्दोलन बलियो बनाउन संवाद र आलोचनाको संस्कृति आवश्यक हुन्छ।
अबको बाटो के ?
विप्लव नेतृत्वले वैज्ञानिक समाजवाद र ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशामा पार्टी अघि बढिरहेको बताउँदै आएको छ। तर लगातारको विभाजन, नेताहरूको बहिर्गमन र आन्तरिक बहसले पार्टीभित्र पुनरावलोकनको आवश्यकता देखाएको छ।
एक समय वैकल्पिक कम्युनिस्ट शक्ति निर्माणको दाबी गरेको पार्टी अहिले आफ्नै संगठनलाई एकताबद्ध राख्ने चुनौतीमा पुगेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ।

