काठमाडौं । चार दिने भ्रमणका लागि पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ शनिबार चीन प्रस्थान गरेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उनी झेजियाङ प्रान्तको हाङझोउस्थित विमानस्थलमा अवतरण गरेका हुन् ।
पाकिस्तानी प्रधानमन्त्रीले चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । तर, उनीहरूबीच मध्यपूर्वमा जारी द्वन्द्वबारे छलफल हुने वा नहुने विषयमा चिनियाँ विदेश मन्त्रालयले औपचारिक भनाइ सार्वजनिक गरेको छैन ।
इस्लामाबाद र बेइजिङ दुवैले मध्यपूर्वमा बढ्दो तनाव अन्त्यका लागि मध्यस्थताको प्रयास गरिरहेका छन् । यसै साताको सुरुमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले ‘साझा चासोका विषयहरू’मा मात्र छलफल हुने बताएका थिए ।
गुओले मध्यपूर्वमा शान्ति र स्थिरताको शीघ्र बहालीका लागि चीनले पाकिस्तानसँग मिलेर काम गर्ने बताएका छन् । उनले शान्ति प्रवर्द्धन गर्न तथा युद्ध अन्त्यका लागि निष्पक्ष र सन्तुलित मध्यस्थताको भूमिका निर्वाह गर्न चीनले पाकिस्तानलाई सहयोग गर्ने उल्लेख गरेका छन् ।
पाकिस्तान संयुक्त राज्य अमेरिका र इरानबीच केन्द्रीय मध्यस्थकर्ताको रूपमा पनि देखिएको छ ।
गत महिना भएको ऐतिहासिक प्रत्यक्ष वार्ताको आयोजना पाकिस्तानले गरेको थियो । तर, उक्त वार्ताले दिगो समाधान दिन नसकेपछि थप वार्ताको पहल जारी रहेको जनाइएको छ ।
बितेका दुई हप्तामा बेइजिङमा अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमण भइसकेको छ । यस अवधिमा चीन भ्रमण गर्ने शहबाज सरिफ तेस्रो उच्च पदस्थ विदेशी नेता बनेका छन् ।

