काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले जारी गरेको सूचनाअनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा आगामी तीन दिनसम्म अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्न सक्ने सम्भावना रहेको छ । ती प्रदेशका तराई भू–भागमा मध्यम तातो हावाको लहर चल्ने अनुमान गरिएको छ ।
प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई विशेष सतर्कता अपनाउनुपर्ने जिल्लाको सूचीमा राखेको छ । यस्तै कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अद्यावधिक रहनुपर्ने जिल्लाका रूपमा उल्लेख गरिएको छ ।
अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीर असर पर्न सक्ने भएकाले सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ । विपद् व्यवस्थापनसँग सम्बन्धित सबै निकायलाई आवश्यक पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन पनि आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले शुक्रबार जारी गरेको तातो दिन तथा तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिनमा जेठ ६ गतेदेखि तराईका केही भू–भागमा तापक्रम तीव्र रूपमा बढेको उल्लेख गरिएको छ ।
चिकित्सकका अनुसार अत्यधिक गर्मीका कारण थकान महसुस हुने, कमजोरी आउने, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस हुने, मांसपेशी दुख्ने तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या देखिन सक्छन् ।
तातो हावाको लहरबाट बच्न चर्को घाम लाग्ने समयमा सकेसम्म घरभित्रै बस्न, बाहिर निस्कनै परे छाता ओढ्न वा पातलो कपडाले टाउको ढाक्न प्राधिकरणले सुझाव दिएको छ । यस्तै खुकुलो तथा हल्का रङको कपडा लगाउने, पर्याप्त पानी पिउने, बेलाबेलामा चिसो पानीले नुहाउने तथा धेरै चिनी नभएको सर्वत, कागती पानी र फलफूल सेवन गर्न आग्रह गरिएको छ ।
धेरै पसिना आएमा जीवनजल पिउन, घरमै बनाएको ताजा खाना खान, सकेसम्म प्याकेटको खाना नखान तथा खेतबारी वा बाहिरको काम बिहान गर्मी बढ्नुअघि वा साँझ शीतल भएपछि मात्रै गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
बालबालिकालाई चर्को घाममा खेल्न नदिन पनि सूचनामा उल्लेख गरिएको छ ।

