काठमाडौँ । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको संयुक्त प्रभाव कायम रहेकाले देशका विभिन्न क्षेत्रमा मौसम बदली र वर्षाको अवस्था देखिएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ। साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बादल लागेको छ भने अन्य तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा भइरहेको विभागले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभाग तथा कोशी प्रदेशका पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ। देशका अन्य पहाडी भूभागका साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बादल लाग्ने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ।
त्यसैगरी, कोशी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ।
यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही जिल्लामा तापक्रम बढ्ने भएकाले तातो दिनको अनुभूति हुने विभागले जनाएको छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि आंशिक बादल लाग्ने सम्भावना छ। यी प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।
रातिको समयमा कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

