काठमाण्डौ । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई प्रहरीले पर्सा जिल्ला अदालत परिसरबाट नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक नवीन थापा मगरको नेतृत्वमा खटिएको टोलीले घिमिरेलाई अदालत परिसरबाटै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा लगेको हो ।
मेयर सिंहविरुद्ध नागरिकता तथा लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत पर्साले गत मंगलबार पक्राउ पुर्जी जारी गरेको थियो । सोही प्रकरणसँग सम्बन्धित कानुनी प्रक्रिया बुझ्न घिमिरे अदालत पुगेका बेला उनलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
मेयरका प्रेस सल्लाहकार नवराज फुयाँलका अनुसार घिमिरे कानुनी प्रक्रिया बुझ्न अदालत गएका थिए भने प्रहरीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले भने घिमिरेलाई सोधपुछका लागि ल्याइएको र पक्राउ नगरेको दाबी गरे ।
यसअघि अदालतले मेयर सिंह, उनकी कान्छी श्रीमती रिता भट्टराई र वीरगन्ज महानगरपालिका–३ का तत्कालीन पञ्जिकाधिकारी भिखारी रायविरुद्ध नागरिकता तथा लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।
उक्त मुद्दा सरकारी कागजात किर्ते र नागरिकता किर्तेसम्बन्धी उजुरीका आधारमा अघि बढाइएको बताइएको छ ।

