काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका कामकारबाहीमाथि प्रभावकारी निगरानी र संसदीय अभ्यासलाई सशक्त बनाउने उद्देश्यसहित ‘छाया सरकार’ गठन गरेको छ ।
कांग्रेस संसदीय दलले दलका नेता भीष्मराज आङ्देम्बेलाई छाया प्रधानमन्त्रीको जिम्मेवारी दिएको छ । त्यस्तै विभिन्न मन्त्रालयका लागि नेताहरूलाई छाया मन्त्री तोक्दै जिम्मेवारी बाँडफाँट गरिएको जनाएको छ ।
छाया गृहमन्त्रीमा प्रकाश सिंह कार्की, अर्थ मन्त्रालयमा नरेन्द्रकुमार केरुङ तथा परराष्ट्र मन्त्रालयमा सुनिलबहादुर थापालाई जिम्मेवारी दिइएको छ ।
यस्तै, पूर्वाधार विकास मन्त्रालयमा मोहन आचार्य, शिक्षा तथा खेलकुद मन्त्रालयमा डा. फिर्दोष आलम तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा डा. चन्द्र मोहन यादवलाई जिम्मेवारी तोकिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विष्णुबहादुर खड्का, कृषि, वन तथा पर्यावरण मन्त्रालयमा डा. प्रमिलाकुमारी गच्छदार, युवा, श्रम तथा रोजगार मन्त्रालयमा गीता गुरुङ तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सन्दीप रानालाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी महिला तथा बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा डा. गंगालक्ष्मी अवाल तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जनकराज गिरीलाई जिम्मेवारी तोकिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सन्तोष सुब्बा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा योगेश गौचन, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा खम्मबहादुर खाती, रक्षा मन्त्रालयमा खड्ग शाही तथा सूचना तथा सञ्चार मन्त्रालयमा मनमाया विश्वकर्मालाई जिम्मेवारी दिइएको कांग्रेस संसदीय दलले जनाएको छ ।

