काठमाण्डौ। इरानी संसदका सभामुख तथा अमेरिका–इरान वार्ताका प्रमुख व्यक्तित्वमध्ये एक मोहम्मद बघेर घालिबाफले लेबनानमा इजरायली आक्रमण जारी रहे अमेरिकासँगको वार्ता प्रक्रिया तोड्ने चेतावनी दिएका छन्।
घालिबाफले लेबनानी संसदका सभामुख नबिह बेर्रीसँग टेलिफोन वार्ता गरेपछि सामाजिक सञ्जाल एक्समा यस्तो धारणा सार्वजनिक गरेका हुन्।
उनले लेखेका छन् , मेरा भाइ नबिह बेरीसँगको कुराकानीमा मैले जोड दिएँ कि यदि लेबनानमा जायोनिस्ट शासनका अपराधहरू जारी रहे भने हामी संवाद प्रक्रिया मात्र रोक्ने छैनौँ, उनीहरूको विरुद्ध दृढतापूर्वक उभिनेछौँ।
घालिबाफले आफ्नो सन्देशको अन्त्यमा लेखेका छन- ‘प्रतिरोध अमर रहोस्, मातृभूमिको रक्षा अमर रहोस्, इरानी र लेबनानी जनताको भाइचारा अमर रहोस् !’
यो अभिव्यक्तिपछि अमेरिका र इरान वार्ता फेरी संकटको चरणमा पुगेको छ ।

