काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा लामिछानेले मंगलबार नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा भारतको शीर्ष नेतृत्वसँग विभिन्न राजनीतिक तथा कूटनीतिक विषयमा छलफल गरेका थिए। सो क्रममा उनले भाजपा राष्ट्रिय अध्यक्ष, महासचिव, विदेश विभाग प्रमुखलगायत नेताहरूसँग भेटवार्ता गरेका थिए। त्यस्तै, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तासँग पनि द्विपक्षीय भेट भएको जनाइएको छ।
यसैबीच, उनले भारतका विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाह सँग छुट्टाछुट्टै भेट गरेका थिए । ती भेटहरूमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार–विमर्श भएको रास्वपाले जनाएको छ।
उच्चस्तरीय भ्रमण टोलीमा सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपक बोहरालगायत सहभागी छन्। भाजपाको निमन्त्रणामा भारत पुगेको रास्वपा सभापति लामिछाने लगायतको टोली जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

