काठमाडौँ । बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी इरानले आक्रमण गरेको दाबी गरिएको छ।
बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक फ्लीटको मुख्यालय र एक हवाई अड्डामा इरानी पक्षले मिसाइल आक्रमण गरेको बताइएको छ। त्यस्तै, कुवेतमा रहेका अमेरिकी सैन्य बलहरूलाई लक्षित गर्दै ड्रोन आक्रमण प्रयास भएको पनि उल्लेख गरिएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी) का अनुसार, यो कारबाही अमेरिकाले इरानको क्वेश्म टापु क्षेत्रमा गरेको आक्रमणको प्रतिशोधस्वरूप गरिएको हो।
यता, अमेरिकी सेन्ट्रल कमान्डले बहराइनतर्फ प्रहार गरिएका तीन मिसाइल र कुवेततर्फ प्रहार गरिएका दुई मिसाइल तथा केही ड्रोनलाई खसालिएको जनाएको छ। आक्रमणका क्रममा ठूलो क्षति नभएको पनि अमेरिकी पक्षको दाबी छ।
अमेरिका र इरानबीच कूटनीतिक वार्ता जारी रहे पनि सैन्य तनाव भने निरन्तर बढ्दै गएको देखिन्छ। पछिल्लो घटनाले दुई देशबीचको द्वन्द्व झन् गहिरिने संकेत दिएको छ।

