काठमाडौँ । आज देशका अधिकांश स्थानको मौसम सामान्यतया बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहनेछ।
महाशाखाले देशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। साथै, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था कायम रहने सम्भावना छ।
आज राति हिमाली भू–भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ। मौसममा हुने सम्भावित परिवर्तनप्रति सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ।

